दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको छ। शुक्रबार भएको पहिलो खेलमा आर्मीले प्रस्तुत गरेको १३९ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेश १३.१ ओभरमा अलआउट हुँदै मात्र ४१ रनमा समेटियो।
कर्णालीको ब्याटिङ लाइनअप ध्वस्त पार्न आर्मीकी बलर मनिषा उपाध्यायले घातक बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर सर्वाधिक ४ विकेट हात पारिन्। यमुना थारुले ४ ओभरमा १ मेडनसहित ११ रन दिएर ३ विकेट लिइन् । कविता कुँवरले ३ ओभरमा १३ रन खर्चेर २ विकेट र कप्तान लक्ष्मी साउदले ०.१ ओभरमा बिनाकुनै रन १ विकेट प्राप्त गरिन्। आर्मीको धारिलो बलिङसामु कर्णालीका ब्याटरहरू टिक्नै सकेनन्। कर्णालीका लागि तल्लो क्रमकी ब्याटर जयन्ती चन्दले ८ बलमा १ चौकासहित सर्वाधिक १० रन जोड्नु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्। कप्तान किरण कुमारी कुँवरले ८ रन, शिखा दुवाडीले ६ रन, रेखा सोनीले ५ रन, रबिना बुढा मगरले ३ रन तथा उमा चौधरी, सुरती बुढा र अञ्जु गुरुङले समान १–१ रन मात्र बनाए।
टस जितेर पहिले ब्याटिङ रोजेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३८ रन बनाएको थियो। आर्मीको बलियो योगफलमा ओपनर सम्झना खड्काले ५८ बलमा १० चौकाको मद्दतले सर्वाधिक ६२ रनको अर्धशतकीय इनिङ्स खेलिन्। यशोदा विष्टले ३९ बलमा ३ चौकासहित ३३ रन जोडिन् भने कविता कुँवरले ६ बलमा अविजित ११ रन, विन्दु रावलले ७ रन र रुबी पोद्दारले ५ रन बनाए।
बलिङतर्फ कर्णालीका रमा बुढाथोकी, गंगा खड्का, सोना चन्द र कप्तान किरण कुमारी कुँवरले समान १–१ विकेट लिएका थिए।










