कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा मधेश प्रदेशले बलियो विभागीय टोली नेपाल पुलिस क्लबमाथि २९ रनको सानदार हासिल गरेको छ। ओपनर सन्तोष कार्कीको अर्धशतकीय इनिङ्स र आक्रामक ब्याटर विवेक यादवको फिनिसिङ तथा बलरहरूको सन्तुलित प्रदर्शनमा मधेसले जित हात पारेको हो।

पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। मधेशलाई बलियो स्थितिमा पुर्याउन ओपनर सन्तोष कार्कीले ४२ बलमा ५ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ६० रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेले। उनलाई कप्तान अनिल कुमार साहले १४ रन र मयन यादवले १९ रन बनाउँदै साथ दिए भने अरनिको यादवले ७ रन जोडे। इनिङ्सको अन्त्यतिर पवन सर्राफ र विवेक यादवले अविजित साझेदारी गर्दै टोलीको स्कोर १५० रन कटाएका थिए। विवेकले मात्र १६ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै अविजित ३७ रनको विस्फोटक इनिङ्स खेले भने पवन २१ बलमा १ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे।

बलिङतर्फ पुलिसका राशिद खान, चन्द्रकान्त पौडेल, दीपक सेराला र श्रवण यादवले समान १–१ विकेट हात पारे।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

१६७ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल पुलिस क्लब निर्धारित २० ओभर पूरा खेल्दै १३७ रनमा अलआउट हुन पुग्यो। पुलिसका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका राशिद खानले २९ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४१ रन बनाए। त्यस्तै, तल्लो क्रममा चन्द्रकान्त पौडेलले १४ बलमा २ छक्कासहित १९ रन, श्रवण यादवले १२ बलमा २ छक्कासहित १६ रन, दिलीप नाथले १४ रन तथा कप्तान सागर ढकालले १० रन जोडे पनि टोलीलाई जित भने दिलाउन सकेनन्। ओपनर अमित श्रेष्ठ ६ रन, शङ्कर राना ९ रन र अर्जुन घर्ती मगर शून्य रनमै आउट हुँदा पुलिसले सुरुवातदेखि नै दबाब बेहोरेको थियो।
मधेश प्रदेशका अरनिको यादवले ४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। रुपेश कुमार सिंहले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । अभिषेक तिवारीले ३ ओभरमा ३४ रन खर्चेर २ विकेट हात पारे। कसिलो बलिङ गरेका विशाल पटेलले ४ ओभरमा मात्र १३ रन खर्चेर १ विकेट लिए भने रञ्जित कुमारले ४ ओभरमा मात्र १७ रन दिए पनि विकेट भने प्राप्त गर्न सकेनन्।