स्वर्गीय नरेश श्रेष्ठ मेमोरियल यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को खेलमा मधेश प्रदेश यू–१९ ले गण्डकी प्रदेश यू–१९ लाई ७ विकेटले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश यू–१९ ले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै १२० रनको सामान्य योगफल तयार पारेको थियो। गण्डकीका लागि राज परियारले ७२ बलमा ३ चौकासहित सर्वाधिक २३ रन तथा स्पर्श तामाङले ५६ बलमा ३ चौकासहित २१ रन जोड्नुबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ओपनर अनिकेत गजुरेल र तथा तेस्रो नम्बरमा ब्याटिङमा आएका घनश्याम यादवले समान १२–१२ रन बनाए ।

गण्डकीको लय बिगार्नकाा लागि मधेश प्रदेशका विशाल क्षेत्रीले १० ओभरमा ६ मेडन राख्दै मात्र १४ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए । त्यस्तै आशिक बैठाले १० ओभरमा ६ मेडनसहित १३ रन दिएर २ विकेट, राहुल यादवले २ विकेट र नुमैर अहमदले १ विकेट हात पारे।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

१२१ रनको सहज विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश यू–१९ ले आक्रामक ब्याटिङ गर्दै मात्र १५.२ ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाउँदै खेल आफ्नो पक्षमा पार्‍यो। मधेशको जितमा सुशान्त सिंहले ३६ बलमा ४ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान परिमार्जन यादवले २० बलमा २ चौका र ३ छक्कासहित ३० रन तथा विशाल क्षेत्रीले २१ बलमा अविजित २३ रनको योगदान दिए।

गण्डकी प्रदेशका बलर प्रकाश खनालले ३ ओभरमा २३ रन खर्चेर २ विकेट तथा सुशील भुसालले १ विकेट लिए पनि टोलीको हार टार्न भने सकेनन्।