दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले कोशी प्रदेशसामु जितका लागि १५५ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।
सुर्खेतको कालुङचोक क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाएको हो।
एपीएफका लागि ओपनर ब्याटर दीपक बोहराले सानदार अर्धशतकीय इनिङ्स खेले। उनले ४४ बलमा ४ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ५७ रन जोडे। मध्यक्रमका ब्याटर सुमित महर्जनले २१ बलमा ३ चौकासहित २८ रन बनाए । अमर सिंह रौटेलाले १३ बलमा १६ रन र सन्तोष यादवले ११ रनको योगदान दिए। अन्य ब्याटरहरूमध्ये प्रज्ज्वल शाहीले ८ रन, पुरन बीकेले ६ रन, युवराज खत्रीले ५ रन, कप्तान भुवन कार्कीले ३ रन तथा इरशाद अहमदले अविजित २ रन जोडे।
बलिङतर्फ कोशी प्रदेशका विपिन कुमार महतोले ४ ओभरमा ३५ रन खर्चेर सर्वाधिक ३ विकेट हात पारे। प्रतीक पोखरेलले ४ ओभरमा २७ रन र कप्तान सुजन थपलियाले ४ ओभरमा २८ रन खर्चेर समान २–२ विकेट लिए। फिरदोश अन्सारीको नाममा १ विकेट रह्यो।










