कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गतको महिला क्रिकेट प्रतियोगिताको खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले मधेश प्रदेशमाथि ८० रनको फराकिलो जित दर्ता गरेको छ। सुरुवाती ब्याटिङ क्रम धर्मराए पनि अनुभवी ब्याटर इन्दु बर्माको अर्धशतकीय इनिङ्स र रोमा थापाको संयमित ब्याटिङको मद्दतले एपीएफले सहज जित हात पारेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४३ रनको बलियो योगफल तयार पारेको थियो। एपीएफको सुरुवात निकै खराब रह्यो् । ओपनर रेवती धामी २ रनमा आउट भइन् भने कप्तान सीता राना मगर र राजमती ऐरीले खातासमेत खोल्न सकेनन्। तर, चौथो क्रममा ब्याटिङ गर्न आएकी इन्दु बर्माले ५१ बलमा ९ चौकाको मद्दतले ५६ रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेल्दै टोलीको इनिङ्स उकासिन्। उनलाई विकेटकिपर ब्याटर रोमा थापाले ४४ बलमा ४ चौकासहित अविजित ४४ रन बनाउँदै साथ दिइन्। कविता जोशीले १७ बलमा ४ चौका प्रहार गर्दै आक्रामक २३ रन जोडिन् भने करुणा भण्डारीले २ बलमा ५ रन बनाइन्।
बलिङतर्फ मधेश प्रदेशकी कप्तान पूजा महतोले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । सरस्वती चौधरी, प्रसिद्धि खड्का र प्रज्ञा क्षेत्रीले समान १–१ विकेट हात पारे।
१४४ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको मधेश प्रदेश एपीएफको कसिलो बलिङ र अनुशासित फिल्डिङसामु खुलेर खेल्न सकेन। मधेशले निर्धारित २० ओभर पूरा खेल्दै ७ विकेटको क्षतिमा मात्र ६३ रन जोड्न सक्यो।
मधेशको शीर्ष क्रमका ब्याटर त्रय ओपनर अलिशा यादव, सना प्रवीन र कप्तान पूजा महतो तीनै जनाले खातासमेत खोल्न सकेनन्। मध्यक्रममा सरस्वती चौधरीले ३० बलमा २ चौकासहित सर्वाधिक १७ रन तथा अनुराधा चौधरीले २४ बलमा १ चौकासहित १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। रोजी कडारी ८ रनमा अविजित रहिन् भने सिवानी शाहले ६ रन बनाइन्।
एपीएफकी सुमन विष्टले ४ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिइन्। राजमती ऐरीले १ ओभरमा मात्र २ रन खर्चेर २ विकेट हात पारिन् भने रेखा रावल र कविता जोशीले समान १–१ विकेट लिए। बलिङमा रेखा रावलले ४ ओभरमा १० रन र करुणा भण्डारीले २ ओभरमा मात्र ३ रन खर्चिदै किफयति बलिङ गरे ।










