दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा घरेलु टोली कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको छ। सुदूरपश्चिमले प्रस्तुत गरेको १२८ रनको लक्ष्य कर्णालीले मात्र १३.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
१२८ रनको मध्यम लक्ष्य पछ्याएको कर्णालीका लागि विपिन रावलले विस्फोटक अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई सहज जित दिलाए। उनले मात्र ३५ बलमा ४ चौका र ४ छक्काको मद्दतले अविजित ६० रन जोडे। यस्तै, दिनेश अधिकारीले ८ बलमा १ चौका र १ छक्कासहित अविजित १५ रन बनाए भने कप्तान रवीन्द्र जंग शाही र मनिष थापाले समान १३–१३ रनको योगदान दिए।
सुदूरपश्चिमका लागि बलिङतर्फ भोजराज भट्टले ३ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए भने कप्तान नारायण जोशी र सौर्य श्रेष्ठले समान १–१ विकेट हात पारे।
टस हारेर पहिले ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि ओपनर अभिषेक पालले २७ बलमा ५ चौकासहित सर्वाधिक २८ रन जोडे। यस्तै, दिपक बोहराले १८ रन, किरण कुमार ठगुन्नाले १४ रन, दिपक रोकायाले अविजित १३ रन तथा वसन्त सिंह कार्की र कप्तान नारायण जोशीले समान ११–११ रन बनाए।
कर्णालीका लागि दिनेश अधिकारीले ४ ओभरमा मात्र १४ रन खर्चेर २ विकेट लिए। यस्तै, दिवान पुनले ४ ओभरमा २५ रन र राजकुमार शाहले ४ ओभरमा २८ रन खर्चेर समान २–२ विकेट हात पारे भने प्रकाश जैसी र युनिश विक्रम सिंह ठकुरीले १–१ विकेट लिए।








