भारतीय युवा ब्याटर वैभव सूर्यवंशीले लिस्ट ए क्रिकेटको इतिहासमा सबैभन्दा छिटो शतक प्रहार गर्ने नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। कतारको दोहामा सम्पन्न इन्डिया ए र युएई बीचको खेलमा १५ वर्षीय सूर्यवंशीले मात्र २८ बलमा शतक पूरा गर्दै अस्ट्रेलियाका जेक फ्रेजर–म्याकगर्कको नाममा रहेको २९ बलको कीर्तिमान भंग गरेका हुन्।

उक्त खेलमा सूर्यवंशीले कुल २०४ रन बनाए। सुरुवाती २८ बलमा शतक पूरा गरेका उनले त्यसपछि झन् आक्रामक रूप लिँदै मात्र ५२ बलमा दोहोरो शतक समेत पूरा गरे, जुन लिस्ट ए क्रिकेटकै सबैभन्दा छिटो दोहोरो शतक हो। उनले ५३ बलको सामना गर्दै २८ छक्का र ७ चौका प्रहार गरेका थिए।
यस कीर्तिमानी इनिङसँगै सूर्यवंशी लिस्ट ‘ए’ क्रिकेटको सर्वाधिक छिटो शतक प्रहार गर्ने शीर्ष १० खेलाडीको सूचीमा पहिलो स्थानमा उक्लिएका छन्। विशेष कुरा के छ भने, शीर्ष १० को सूचीमा वैभवको नाम दुई पटक दर्ज छ। यसअघि सन् २०२५–२६ को सिजनमा बिहारबाट अरुणाचल प्रदेशविरुद्ध राँचीमा भएको खेलमा पनि उनले ३६ बलमै शतक प्रहार गर्दै १९० रन बनाएका थिए, जुन सूचीको नवौँ स्थानमा रहेको छ।
यि हुन् लिस्ट ‘ए’ क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने शीर्ष १० ब्याटरहरूः
१. वैभव सूर्यवंशी (२८ बल) : इन्डिया ए विरुद्ध युएई, दोहा (२०२६) – २०४ रन)
२. जेक फ्रेजर–म्याकगर्क (२९ बल): साउथ अस्ट्रेलिया विरुद्ध तास्मानिया, एडिलेड (२०२३–२४) – १२५ रन
३. एबी डी भिलियर्स (३१ बल) : दक्षिण अफ्रिका विरुद्ध वेस्ट इन्डिज, जोहानेसबर्ग (२०१४–१५) – १४९ रन
४. सकिबुल गनी (३२ बल): बिहार विरुद्ध अरुणाचल प्रदेश, राँची (२०२५–२६) – १२८ रन
५. इशान किशन (३३ बल): झारखण्ड विरुद्ध कर्नाटक, अहमदाबाद (२०२५–२६) – १२५ रन
६. अनमोलप्रीत सिंह (३५ बल): पञ्जाब विरुद्ध अरुणाचल प्रदेश, अहमदाबाद (२०२४–२५) – ११५ नटआउट रन
७. कोरी एन्डरसन (३६ बल): न्युजिल्यान्ड विरुद्ध वेस्ट इन्डिज, क्विन्सटाउन (२०१४) – १३१ नटआउट रन
८. ग्राहम रोज (३६ बल): समरसेट विरुद्ध डेभन, टोरक्वे (१९९०) – ११० रन
९. वैभव सूर्यवंशी (३६ बल): बिहार विरुद्ध अरुणाचल प्रदेश, राँची (२०२५–२६) – १९० रन
१०. शाहिद अफ्रिदी (३७ बल): पाकिस्तान विरुद्ध श्रीलंका, नैरोबी (१९९६) – १०२ रन

विश्व क्रिकेटका दिग्गज ब्याटरहरू एबी डी भिलियर्स, शाहिद अफ्रिदी र कोरी एन्डरसनजस्ता हस्तीहरूलाई पछि पार्दै १५ वर्षको कलिलो उमेरमै वैभव सूर्यवंशीले एकदिवसीय क्रिकेटमा नयाँ युगको सुरुवात गरेका छन्।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६