दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ४९ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा कोशीले दिएको १२६ रनको लक्ष्य पछ्याएको कर्णाली १९.५ ओभरमा ७६ रनमा अलआउट भएको थियो।
१२६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले कोशीको अनुशासित बलिङ आक्रमणको सामना गर्दै इनिङ्सभर गति निर्माण गर्न सकेन। कर्णालीका लागि शिखा दुवाडीले सर्वाधिक २० रन बनाएकी थिइन्। सोविका शाहीले १२ रन र रमा बुढाथोकीले १० रनको योगदान दिए। यी तीन बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।
कप्तान किरणकुमारी कुँवरले ९ रन जोडे भने गंगा खड्का र सोना चन्दले समान ७ रन जोडे। अन्जु गुरुङले ४ रन बनाइन्।
कोशीका लागि, लकिता राजवंशीले उत्कृष्ट र किफायती बलिङ प्रदर्शन गरे, आफ्नो 4 ओभरमा मात्र 5 रन दिएर तीन महत्वपूर्ण विकेट लिए, जसमा एक मेडन पनि थियो। अलिशा खाडियाले पनि ४ ओभरमा १४ रन दिएर २ विकेट लिए भने निशा शाहले ३.५ ओभरमा १३ रन दिएर २ विकेट लिए। कप्तान रुविना क्षेत्री र निरु राजवंशीले समान १–१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ४ विकेट गुमाएर १२५ रन बनाएको थियो।
कप्तान रुविना क्षेत्रीले जिम्मेवारीपूर्ण अर्धशतक प्रहार गर्दै कोशीलाई सम्मानजनक स्कोरमा पुर्याएकी थिइन्। इनिङ्सको सुरुवात गर्दै उनले ५७ बलमा ९ चौका र एक छक्का सहित ६२ रन बनाएकी थिइन्। उनको ओपनिङ पार्टनर काजल श्रेष्ठले २९ बलमा दुई चौकासहित १४ रन जोडेर अमूल्य सहयोग गरिन्।
मध्यक्रममा विमला महलाले १० रन, लकिता राजवंशीले ९, खुशी राजवंशी ७ रन र फूलकुमारी राजवंशी ६ रनमा अविजित रहिन्।
कर्णालीका लागि रमा बुढाथोकीले ४ ओभरमा १६ रन दिएर २ विकेट लिएकी थिइन्। रविना बुढा मगरले पनि ४ ओभरमा १८ रन दिएर एक विकेट हात पारिन्। गंगा खड्का, जयन्ती चन्द, सोना चन्द र कप्तान किरणकुमारी कुँवरले कुनै विकेट लिन सकेनन्।


