दशौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको वाग्मतीले १८ ओभरमा ३ विकेट गुमाएर सहजै लक्ष्य पूरा गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले २० ओभरमा ७ विकेट गुमाएर ११२ रन बनाउन सफल भयो। सुदूरपश्चिमका लागि मनिषा बोहराले सर्वाधिक ३० रन बनाएकी थिइन्। तल्लो क्रममा अनु कडायतले १५ बलमा एक चौका र एक छक्का सहित २३ रनको आक्रामक नाबाद खेलीन्। स्नेहा महराले २२ रन जोडे भने कप्तान रितु कनौजियाले १५ रनमा अविजित रहिन्। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

कप्तान अश्मिना कर्माचार्यले प्रभावशाली प्रदर्शन गर्दै बागमतीको बलिङ आक्रमणको नेतृत्व गर्दै ४ ओभरमा २२ रन दिएर ३ महत्वपूर्ण विकेट लिएकी थिइन्। त्यस्तै लक्ष्मीमाया रुम्बा लामाले ३ ओभरमा ९ रन दिएर १ विकेट लिए भने संस्कृति फुयालले पनि १ विकेट लिए।

११३ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर हेलिशा गुरुङले अविजित अर्धशतकीय पारी खेल्दै बागमतीलाई जित दिलाएकी थिइन्। ५१ बलको सामना गर्दै ६ चौकाको मद्दतले ५५ रन बनाइन्। उनलाई लक्ष्मीमाया रुम्बा लामाको राम्रो साथ मिलेको थियो, जसले १५ बलमा दुई चौका र एक छक्का सहित २० रन योगदान गरिन्। कञ्चन श्रेष्ठले १३ रन जोडिन् भने विपिशा शाहीले १० रन जोडिन्।सविका कुमारी यादव ३ रनमा अविजित रहिन्।

बलसँगै सुदूरपश्चिमका लागि अनु कडायतले ४ ओभरमा २० रन दिएर एक विकेट लिएकी थिइन्। स्नेहा महराले पनि ४ ओभरमा २१ रन दिएर एक विकेट हात पारिन्। कप्तान रितु कनौजियाले आफ्नो ४ ओभरमा १७ रन दिएर विकेट लिन असफल भए पनि आर्थिक रूपमा बलिङ गरिन्।