दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको खेलमा लुम्बिनी प्रदेशले मधेश प्रदेशसामु जितका लागि ८० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो।
मधेशका बलरहरूसामु लुम्बिनीका अधिकांश ब्याटरहरू खुलेर खेल्न सकेनन्। ओपनर रितु रावलले भने एकछेउबाट इनिङ्स सम्हाल्दै अविजित ४१ रन जोडिन्। ५६ बलको सामना गरेकी उनले ५ चौका प्रहार गरिन्। रितुबाहेक सीमा थापाले १० रन बनाउनु नै लुम्बिनिका लागि दोस्रो उच्च स्कोर रह्यो । सीमा र रितु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। कप्तान अस्मा पुलामी मगर ५ रन, दीपा कुँवर र अनिता चौधरी समान ४–४ रन, सुस्मिता भुसाल अविजित २ रन तथा श्रुति बुढाथोकी, सरस्वती पुन र मनिषा राना समान १–१ रनमा आउट भए।
लुम्बिनीलाई सस्तैमा रोक्न मधेश प्रदेशकी सुस्मिता यादवले घातक बलिङ गरिन्। उनले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट हात पारिन्। यस्तै, रोजी कडारीले ३ ओभरमा १० रन दिएर २ विकेट लिइन् भने कप्तान पूजा महतोले ४ ओभरमा १९ रन खर्चेर १ विकेट प्राप्त गरिन्। विकेट प्राप्त नगरेका बलर सरस्वती चौधरीले ४ ओभरमा १० रन र अनुराधा चौधरीले ३ ओभरमा ७ रन मात्र खर्चेर निकै किफायती बलिङ गरे।








