स्वर्गीय नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले आयोजक सुदूरपश्चिम प्रदेशलाई ४१ रनले पराजित गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १७८ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४१ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका रौनक श्रीवास्तवले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र ५ रन खर्चेर ३ विकेट हात पारे। यस्तै, दिनेश बोहरा, शुभम खनाल र प्रिन्स पालले समान २–२ विकेट लिए भने करण जीएमले १ विकेट प्राप्त गरे। सुदूरपश्चिमका लागि तल्लो क्रमका ब्याटर आर्यन बीकेले ४२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६ रन जोडे पनि टोलीको हार टार्न भने सकेनन्। सुदुरपश्चिमका कप्तान निराजन गौतमले २३ रन, निश्चल क्षेत्रीले २२ रन, भास्कर जोशीले १७ रन र राहुल चन्दले १५ रन बनाए।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४४.३ ओभरमा अलआउट हुँदै १७७ रन बनाएको थियो। लुम्बिनीको इनिङ्स सम्हाल्ने क्रममा आरिफ खानले ८९ बलमा ४ चौका र १ छक्काको मद्दतले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, रौनक श्रीवास्तवले ३३ रन, क्षितिज थापा मगरले २५ रन, केशव विष्टले १५ रन तथा दिनेश बोहरा र प्रिन्स पालले समान १०–१० रनको योगदान दिए।
बलिङतर्फ निराजन गौतमले १० ओभरमा २ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए भने सुशील रावलले ३ विकेट, अमर चन्दले २ विकेट र सचिन भट्टले १ विकेट हात पारेका थिए।








