दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गरेको छ। बिहीबार सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको ८० रनको सामान्य लक्ष्य मधेशले १२.५ ओभरमै ५ विकेट गुमाएर पूरा गर्यो।
८० रनको लक्ष्य पछ्याएको मधेश प्रदेशका लागि ओपनर अलिशा यादवले उत्कृष्ट ब्याटिङ गर्दै जितको आधार तयार पारिन्। उनले मात्र ३६ बलमा ८ चौकाको मद्दतले सर्वाधिक ४२ रन जोडिन्। यस्तै, कप्तान पूजा महतोले १४ बलमा ३ चौकासहित १५ रन बनाइन् भने अनुराधा चौधरीले ७ रन, साना प्रवीणले ४ रन र चाँदनी खातुनले अविजित ४ रन जोड्दै टोलीलाई जितसम्म पुर्याइन्।
लुम्बिनीका लागि बलिङतर्फ सरु तिवारीले ३.५ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए पनि टोलीको हार टार्न भने सकिनन्। सुस्मिता भुसाल र सरस्वती पुनले पनि समान १–१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सकेको थियो। लुम्बिनीका लागि ओपनर रितु रावलले एकछेउबाट इनिङ्स सम्हाल्दै ५६ बलमा ५ चौकासहित अविजित ४१ रन जोडिन्। सीमा थापाले १० रन बनाउनु बाहेक लुम्बिनीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
लुम्बिनीलाई सस्तैमा समेट्न प्लेयर अफ दि म्याच घोषित मधेशकी सुस्मिता यादवले घातक बलिङ गरिन्। उनले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्। यस्तै, रोजी कडारीले ३ ओभरमा १० रन दिएर २ विकेट र कप्तान पूजा महतोले १ विकेट हात पारिन्।








