एसीसी एसिया कप राइजिङ स्टार्सको पहिलो सेमिफाइनलमा श्रीलंका ‘ए’ ले भारत ‘ए’ माथि ८ विकेटको सानदार जित हात पार्दै फाईनल प्रबेश गरेको छ । कतारको दोहामा बिहीबार राति सम्पन्न खेलमा भारत एले प्रस्तुत गरेको ३१८ रनको विशाल लक्ष्य श्रीलंका एले ५१ बल बाँकी छँदै मात्र ४१.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो।
विशाल लक्ष्य पछ्याएको श्रीलंकाका लागि ओपनरद्वय लसिथ क्रुसपुले र सिनेथ जयवर्धनेले सानदार शतकीय इनिङ्स खेल्दै पहिलो विकेटका लागि १७४ रनको साझेदारी गरे । प्लेयर अफ द म्याच घोषित सिनेथ जयवर्धनेले मात्र ७० बलमा १० चौका र ६ छक्काको मद्दतले १०५ रनको आक्रामक इनिङ्स खेले भने लसिथ क्रुसपुलेले १०७ बलमा १२ चौका र ३ छक्कासहित सर्वाधिक ११६ रन बनाए। यस्तै, विकेटकिपर निशान मदुस्काले ५६ बलमा ५ चौका र १ छक्कासहित अविजित ५८ रन तथा कप्तान पवन रत्नायकेले मात्र १६ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै अविजित ३१ रन जोडेर टोलीलाई सहज जित दिलाए।
भारतका बलरहरू श्रीलंकाका ब्याटरसामु पूर्ण रूपमा निरीह बन्दा हर्षित राणा र शाहबाज अहमदले मात्र १–१ विकेट हात पारे।
टस जितेर पहिले ब्याटिङ गरेको भारत ए ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रनको बलियो योगफल खडा गरेको थियो। भारतका लागि ओपनर अभिषेक शर्माले ६३ बलमा ११ चौका र १ छक्कासहित सर्वाधिक ७८ रन बनाए। अर्का ओपनर ब्याटर वैभव सूर्यवंशीले २७ बलमा ४ चौका र ३ छक्कासहित ४० रन जोडे । उनिहरुले ८० रनको आक्रामक ओपनिङ साझेदारी गरेका थिए। यस्तै, तल्लो क्रममा शाहबाज अहमदले ४८ बलमा ४ छक्कासहित अविजित ५४ रन र कप्तान तिलक बर्माले ६६ बलमा ५३ रनको अर्धशतकीय योगदान दिए । तनुष कोटियानले २८ रन र कुमार कुशाग्राले २१ रन बनाए।
बलिङतर्फ श्रीलंकाका रभिन्दु फर्नान्डो, जनित लियानागे र निपुन धनञ्जयले समान २–२ विकेट लिए। गरुका संकेत र लाहिरु समराकुनले १–१ विकेट हात पारेका थिए।
यो हार सँगै उपाधिको दाबेदार मानिएको ईन्डिया घर फर्किएको छ भने श्रीलंकाले बंग्लादेश र पाकिस्तानबिच हुने खेलको बिजेतासँग उपाधिका लागि खेल्ने छ।










