कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी ‘नरेश श्रेष्ठ स्मृति यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता’ अन्तर्गत शुक्रबार सम्पन्न दोस्रो खेलमा लुम्बिनी प्रदेश यू–१९ ले कर्णाली प्रदेश यू–१९ माथि १४५ रनको फराकिलो र एकतर्फी जित दर्ता गरेको छ।
पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ४८.२ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २२३ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। लुम्बिनीका लागि मध्यक्रमका ब्याटर समीर अली मुस्लिमले सर्वाधिक ६६ रनको महत्त्वपूर्ण योगदान दिए। उनले ७० बलको सामना गर्दै ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै, केशव विष्टले ५० बलमा २० रन जोड्दा तल्लो क्रममा राजकुमार पालले १७ बलमा २ चौका र १ छक्कासहित आक्रामक २० रन बनाए। दिनेश बोहराले १८, रौनक श्रीवास्तवले १२ र आरिफ खानले ११ रन जोडे।
बलिङतर्फ कर्णालीका नविन न्यौपानेले ८ ओभरमा १ मेडन राख्दै ३५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। निरजन कठायत, बिपिन शर्मा र कैलाश खड्काले समान २–२ विकेट हात पारे भने मौसम थापाको नाममा १ विकेट रह्यो।
२२४ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको कर्णाली प्रदेश लुम्बिनीको धारिलो बलिङ आक्रमणसामु निरिह देखियो। कर्णाली २३.२ ओभरमै मात्र ७८ रनमा समेटिन पुग्यो। कर्णालीका लागि नविन न्यौपानेले ४३ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २८ रन बनाए। नमन थापा र बिपिन शर्माले समान १५–१५ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्। मध्यक्रममा कर्णालीले मात्र १ रनको अन्तरमा ४ विकेट गुमाएपछि टोलीको इनिङ्स पूर्ण रूपमा धराशायी बनेको थियो।
कर्णालीको ब्याटिङ लाइनअप तहसनहस पार्ने क्रममा लुम्बिनीका राजकुमार पालले ५.२ ओभरमा ३ मेडन राख्दै मात्र १० रन खर्चेर ३ विकेट लिए। त्यस्तै, दिनेश बोहराले ३ ओभरमा १६ रन खर्चेर ३ विकेट हात पारे भने लक्ष्मण कुम्हालले २ तथा करण मगरले १ विकेट लिए।










