तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ सम्पन्न भएसँगै हामीले यो सिजनमा आ-आफ्नो भुमिकामा उत्कृष्ट प्रर्दशन गरेका साथै टोलीलाई आबश्यक हुँदा जितका लागि योगदान दिएको आधारमा यो उत्कृष्ट ११ चयन गरेका छौ ।
युवाराज साम्रा र लोकेश बमलाई उत्कृष्ट टिमको ओपनिङः
युवराज साम्रा (पोखरा एभेन्जर्स)
क्यानेडियन युवा ओपनर युवराज साम्रा प्रतियोगिताकै सर्वाधिक रन बनाउने ब्याटर बन्दै ‘प्लाटिनम क्याप’ जित्न सफल भएका थिए। उनले मात्र ४ खेलमा १ शतक र २ अर्धशतकसहित ७३.५० को औसत र १७९.२७ को विस्फोटक स्ट्राइक रेटमा २९४ रन बनाए। उनको उच्च स्कोर १०२ रन रह्यो भने उनले प्रतियोगिताभर २९ चौका र १६ छक्का प्रहार गरे।
लोकेश बम (विराटनगर किङ्स)
विराटनगर किङ्सका ओपनर तथा विकेटकिपर ब्याटर लोकेश बम प्रतियोगितामा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बनेका थिए। उनले ७ खेलमा ३४.५७ को औसत र १४२.३५ को स्ट्राइक रेटमा कुल २४२ रन जोडे। २ अर्धशतक प्रहार गरेका लोकेशको उच्च स्कोर ८७ रन रह्यो भने उनले १६ चौका र प्रतियोगिताकै सर्वाधिक १८ छक्का प्रहार गरे।
डेभिड मलान (चितवन राइनोज)
चितवन राइनोजबाट खेलेका अनुभवी इंग्लिस ब्याटर डेभिड मलानले मध्यक्रममा निकै भरपर्दो प्रदर्शन गरे। उनले ६ खेलमा ५५.०० को औसत र ११८.२८ को स्ट्राइक रेटमा २२० रन बनाए। २ अर्धशतक प्रहार गरेका मलानको उच्च स्कोर अविजित ७१ रन रह्यो भने उनले १८ चौका र ८ छक्का हिर्काउँदै चितवनलाई प्लेअफसम्म पुर्याउन मुख्य भूमिका खेले। यहि स्थानमा रबि बोपाराको सम्भावना रहेपनि मलानले यो पटकको र्कितिपुरको पिच अनुसारले ब्याटिङ गरे । त्यसैले पनि उनि अन्य आफ्ना प्रतिद्धन्दीहरुलाई पन्छाउदै उत्कृष्ट ११ को तेस्रो नम्बरको ब्याटरको भुमिकामा आफुलाई राख्न सफल भए ।
रसिद खान (काठमाडौँ गोर्खाज)
अलराउन्डर रसिद खानले यस सिजन आफ्नो ब्याटिङ क्षमताको सानदार प्रदर्शन गरे। उनले ७ इनिङ्समा ३३.०० को औसत र १३५.६२ को स्ट्राइक रेटमा १९८ रन बनाए। २ अर्धशतक प्रहार गरेका उनले १७ चौका र ८ छक्का हिर्काउनुका साथै बलिङतर्फ पनि ३ विकेट लिए । काठमाण्डौका प्रायजसो सबै जितमा आफ्नो भुमिकालाई परिभाषित गरेका खान चौथो नम्बरको ब्याटर र अलराउण्डरको रुपमा हाम्रो उत्कृष्ट ११ मा पर्न सफल भएका हुन् ।
दीपेन्द्रसिंह ऐरी ( कप्तान, सुदूरपश्चिम रोयल्स)
सुदूरपश्चिम रोयल्सलाई फाइनलसम्म पुर्याएका कप्तान दीपेन्द्रसिंह ऐरी उत्कृष्ट टोलीको कप्तानका रूपमा छनोट भएका हुन्। हरेक अबस्थाबाट टोलीलाई जितसम्म पुर्याएका उनले पहिलो पटक आफ्नो टोलीलाई उपाधि दिलाएका छन् । एक ब्याटर तथा कुशल अलराउण्डरको रुपमा उनि प्रतियोगिताको उत्कृष्ट खेलाडी हुन् । उनि प्लेयर अफ दि टुर्नामेन्ट समेत भए । उनले ९ इनिङ्समा ३ अर्धशतकसहित २१७ रन बनाए। यस्तै, बलिङतर्फ पनि उनले ५.२९ को निकै किफायती इकोनोमीमा बलिङ गर्दै विपक्षी ब्याटरहरूलाई दबाबमा राख्नुका साथै उत्कृष्ट फिल्डिङ र नेतृत्वदायी भूमिका निर्वाह गरे। यस कारणले पनि उनि उत्कृष्ट ११ को लागि कप्तानी भुमिका अब्बल रहनेछन् । तुलनात्मक रुपमा कप्तानको भुमिकामा अन्य सबै ७ टिमका कप्तानहरुलाई आफ्नो प्रर्दशनले पछाडि छोड्न सफल रहे ।
आन्द्रे रसेल (विराटनगर किङ्स)
वेस्ट इन्डिजका विश्वप्रसिद्ध अलराउन्डर आन्द्रे रसेलले छोटो अवधिमै आफ्नो विस्फोटक खेलले दर्शकको मन जिते। उनले ५ खेलमा ४८.०० को औसत र १८९.४७ को स्ट्राइक रेटमा १४४ रन बनाए, जसमा अविजित ५२ रनको अर्धशतकीय इनिङ्ससहित ८ चौका र १४ छक्का सामेल थिए। बलिङतर्फ पनि उनले ६ विकेट लिँदै आफुलाई फेरी साबित गरे । बिस्फोटक ब्याटरका साथै किफायति बलिङले उनि छैठौ नम्बरको ब्याटरसहितको भुमिकामा उत्कृष्ट ११ मा परेका हुन् ।
थारिन्दु रत्नायके (सुदूरपश्चिम रोयल्स)
सुदूरपश्चिम रोयल्सका श्रीलंकन अलराउन्डर थारिन्दु रत्नायकेले प्रतियोगिताभर सन्तुलित प्रदर्शन गरे। उनले ७ खेलमा १२९ को औसत तथा ११७.२७ को स्ट्राइक रेटमा १२९ रन बनाए, जसमा चितवन बिरुद्ध क्वालिफायर दुईमा खेलेको अविजित ५३ रनको महत्त्वपूर्ण अर्धशतकीय इनिङ्स पनि समाबेश छ। उनले बलिङतर्फ पनि ६.१२ को इकोनोमीमा ७ विकेट लिए।
अनिल खरेल (सुदूरपश्चिम रोयल्स)
सुदूरपश्चिम रोयल्सका बायाँहाते स्पिनर अनिल खरेलले प्रतियोगिताभर निकै कसिलो बलिङ गरे। उनले पछिल्ला खेलहरुमा विकेट प्राप्त नगरेतापनि, ८ इनिङ्समा ६.४० को किफायती इकोनोमी र १२.७० को औसतमा कुल १० विकेट हात पारे। पोखरा एभेन्जर्सविरुद्ध २३ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन रह्यो। बिदेशी खेलाडी मात्र ४ टोलीमा राख्ने प्राबधानका कारण पनि खरेल उत्कृष्ट ११ मा पर्न सफल भए । उनि निसन्देह नेपाली लेफ्ट आर्म स्पीनरहरु मध्ये उत्कृष्ट रहे ।
शेर मल्ल (लुम्बिनी लायन्स)
साविक विजेता लुम्बिनी लायन्सका युवा स्पिनर शेर मल्लले ८ खेलमा ६.१३ को इकोनोमी र १६.४५ को औसतमा कुल ११ विकेट लिए। ११ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट बलिङ स्पेल रह्यो। शेर मल्लको कसिलो बलिङ पनि लुम्बिनी फाईनल पुग्नुको एक कारण रह्यो। अघिल्लो सिजनका ईर्मजिङ प्लेयर रहेका मल्लले यो पटक पनि आफुलाई प्रमाणित गरे ।
राहुल यादव (जनकपुर बोल्ट्स)
जनकपुर बोल्ट्सले ट्यालेन्ट हन्टबाट छानेर ल्याएका राहुल यादव यो सिजनको ईर्मजिङ प्लेयर बन्न सफल भए । उनले प्रतियोगितामा आफ्नो प्रतिभा प्रमाणित गर्दै ७ खेलमा १३.१६ को औसत र ६.८६ को इकोनोमीमा कुल १२ विकेट लिए। ३१ रन दिएर ४ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन रह्यो भने उनले फिल्डिङतर्फ पनि ६ क्याच लिँदै उत्कृष्ट योगदान दिए।
रिजन ढकाल (चितवन राइनोज)
चितवन राइनोजका बायाँहाते तीव्र गतिका बलर रिजन ढकाल प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर बन्दै ‘गोल्डेन क्याप’ जित्न सफल भए। उनि नेपाली खेलाडी तर्फ पनि सर्वोत्कृष्ट खेलाडी चुनिन सफल रहे । उनले ८ खेलमा मात्र ९.८८ को औसत र ६.२२ को इकोनोमीमा कुल १७ विकेट हात पारे। दुई पटक ४–४ विकेट लिएका रिजन सिजनकै सबैभन्दा घातक बलर साबित भए। उनि र कमल सिंह ऐरीको जुगलबन्दीले चितवनलाई क्वालिफायर दुईसम्म पुर्याउन ठुलो योगदान गर्यो ।
उत्कृष्ट ११ ( नेपाल प्रिमियर लिग सिजन ३) ः
१) युबराज साम्रा २) लोकेश बम ३) डविड मलान ४) रसिद खान ५) दिपेन्द्र सिंह ऐरी (कप्तान) ६) आन्द्रे रसेल ७) थारिन्दु रत्नायके ८) अनिल खरेल ९) शेर मल्ल १०) राहुल यादब ११) रिजन ढकाल
- Udeep Raj Dhungana, S. Editor / Cricketkitchen.com










