दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ। गण्डकीले प्रस्तुत गरेको १११ रनको लक्ष्य बागमतीले १७.५ ओभरमै मात्र २ विकेट गुमाएर पूरा गर्यो।
बागमतीको सहज जितमा विपिशा शाहीले उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। उनले ४६ बलमा ६ चौकाको मद्दतले अविजित ५० रन जोडिन्। यस्तै, ओपनर हेलिशा गुरुङले ३६ बलमा १ चौकासहित २७ रन बनाइन् भने अलराउन्ड प्रदर्शन गरेकी लक्ष्मी माया रुम्बा लामाले १० बलमा अविजित १३ रन बनाईन । साथै कञ्चन श्रेष्ठ १५ बलमा ९ रन जोड्दै आउट भईन। बाग्मतीका दुबै ब्याटरहरु रनआउट भएका थिए । गण्डकीका कुनै पनि बलरहरुले विकेट प्राप्त गर्न सकेनन् ।
पहिले ब्याटिङ गरेको गण्डकी प्रदेश निर्धारित २० ओभरको अन्तिम बलमा अलआउट हुँदै ११० रनमा समेटिएको थियो। गण्डकीका लागि आयुष्मा चापागाईंले ३७ बलमा सर्वाधिक २१ रन जोडिन् भने चन्द्रमाया बराल र सिर्जना पौडेलले समान १७–१७ रन बनाए।
गण्डकीलाई सस्तैमा रोक्न बागमतीकी लक्ष्मी माया रुम्बा लामाले ३ ओभरमा १३ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन्। यस्तै, संस्कृति फुयाल र सम्भव ढकालले समान २–२ विकेट तथा श्रीजा घिमिरेले १ विकेट हात पारिन्।








