पोखरा – डायमण्ड सेकेण्डरी स्कुलले हिमालय क्रिकेट एकेडेमी कप–२०८२, अन्डर–१६ अन्तरविद्यालय पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

पोखरा रंगशालामा आइतबार भएको फाइनल खेलमा डायमण्डले जनप्रकाश स्कुललाई २ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

टस जितेर डायमण्डले पहिले फिल्डिङ रोजेको थियो। जनप्रकाशले पूरा २० ओभर ब्याटिङ गर्दै आठ विकेट गुमाएर ११५ रन बनाएको थियो। जनप्रकाशका लागि कुशल श्रेष्ठले ३६ बलमा ३६ रन बनाए भने संसार दर्जीले १३ बलमा १२ रनको योगदान दिए।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

डायमण्डको बलिङ आक्रमणबाट भीमबहादुर विकले चार ओभरमा २४ रन दिएर तीन विकेट लिए।

जवाफमा डायमण्डले १९ ओभरमा आठ विकेट गुमाएर ११६ रन बनाएर लक्ष्य पछ्याउन सफल भयो। सुशान्त तिवारीले ३३ बलमा ४१ रनको महत्वपूर्ण पारी खेले भने सन्दिर तिमिल्सिनाले १५ बलमा १७ रन जोडे। जनप्रकाशका लागि रोहित किसानले चार ओभरमा २७ रन दिएर तीन विकेट लिए भने हिमाल आचार्यले पनि चार ओभरमा एक मेडनसहित २० रन दिएर तीन विकेट लिए।

अन्ततः डायमण्डले दुई विकेटको जित निकाल्यो। खेल जित्ने प्रदर्शनका लागि सुशान्त तिवारी प्लेयर अफ द म्याच घोषित भए।

व्यक्तिगत अवार्डमा प्रतिभा माविका सहबुद्दीन अन्सारी उत्कृष्ट बलर घोषित भए र हिमालय एकेडेमीमा भर्ना शुल्कमा ५० प्रतिशत छुट पाए। हिमालय बोर्डिङ स्कुलका आयुष पनेरु सर्वोत्कृष्ट ब्याटर बनेका छन् भने एकेडेमीको भर्ना शुल्कमा ५० प्रतिशत छुट पनि पाएका छन्।

प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको अवार्ड एकेडेमीको भर्ना शुल्कमा शतप्रतिशत छुट पाएका डायमण्ड सेकेण्डरी स्कुलका सुसंक तिवारीले पाए। इमर्जिङ प्लेयरको अवार्ड रत्नज्योति स्कुलका प्रितिश गुरुङले दावी गरे, जसले एकेडेमीमा पूर्ण छात्रवृत्ति पनि पाएका थिए।

विजेतालाई कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुन, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था, हिमालय क्रिकेट एकेडेमी प्रा. लि.का अध्यक्ष शक्ति बराल सहित अन्य खेलकुद अधिकारी तथा पत्रकारहरु।