काठमाडौं – नेपाल पहिलो नेत्रहीन महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
नेपाल नेत्रहीन महिला क्रिकेट टोली पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।
सेमिफाइनलमा पाकिस्तानले दिएको १७० रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।
नेपालका लागि कप्तान विनिता पुनले सर्वाधिक ४६ रन जोडिन्। सुष्मा तामाङले ३६ रन, मनकेसी चौधरीले १७ रन र सरिता घिमिरेले १९ रनमा अविजित रहिन्। विनिता सोमाई ६ रन बनाएर रनआउट भइन्।
यसअघि पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६९ रन बनाएको थियो भने मेरिन अलीले ५५ र बुसरा असरफले ४८ रन जोडेर अविजित रहिन्।
अब नेपालले फाइनलमा आइतबार भारतसँग खेल्नेछ। पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारतले फाइनलमा स्थान पक्का गरेको थियो।
फाइनल खेल आइतबार श्रीलंकाको कोलम्बोस्थित पी सारा ओभल क्रिकेट मैदानमा हुनेछ।

