काठमाडौं – नेपाली क्रिकेटको इतिहासमा अर्को ठूलो उपलब्धि थपिएको छ। नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ।
ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–ईएपी छनोट प्रतियोगितामा नेपालले शीर्ष तीनमा परेको पुष्टि गरेपछि अर्को वर्ष छिमेकी राष्ट्र भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।
नेपालले पहिलो पटक २०१४ मा T20 विश्वकप खेलेको थियो। १० वर्षको प्रतिक्षापछि २०२४ मा पुनरागमन गरेको थियो। अब नेपालले अर्को संस्करणको लागि छिट्टै छनोट भएकोले फेरि धेरै समय कुर्नु पर्दैन।
अहिले ओमानमा सुपर सिक्सका खेलहरु भइरहेका छन्। नेपालले सुपर सिक्सका दुवै खेल जितेर चार अंक जोडेको छ भने यसअघि समूह विजेता बन्दै दुई अंक जोडेको थियो। यसले उनीहरूको कुल ६ अंकमा पुर्यायो।
ओमानसँगको तेस्रो खेलअघि नेपालले अन्य खेलमा राम्रो नतिजा आएपछि छनोट पक्का गरेको थियो। बुधबार कतारले जापानलाई र युएईले समोआलाई हराउँदै नेपाल र ओमानले दुई खेल बाँकी रहँदा विश्वकपमा स्थान सुरक्षित गरेको छ। नेपाल र ओमान दुवैको तीन खेलबाट ६ अंक छ र ओमान नेट रन रेटमा शीर्ष स्थानमा छ।


