काठमाडौं – ओपनर प्रभसिमरन सिंह र कप्तान श्रेयस अय्यरको शानदार ब्याटिङले इन्डियन प्रिमियर लिग (आईपीएल)मा बिहीबार पञ्जाब किंग्सले मुम्बई इन्डियन्समाथि ७ विकेटको शानदार जित हात पारेको छ।

१९६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २१ बल बाँकी रहँदै १९७/३ रन बनाएको थियो।

प्रभसिमरनले ३९ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै अविजित ८० रन बनाए। उनलाई कप्तान श्रेयस अय्यरले राम्रो साथ दिए, जसले ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६६ रन बनाए। १५ औं ओभरमा शार्दुल ठाकुरले आउट हुनुअघि अय्यरले लगातार तेस्रो अर्धशतक पूरा गरे।

यसअघि पञ्जाबले प्रियांश आर्य (१५) र कुपर कोनोली (१७) सस्तोमा गुमाएपछि ४५/२ मा समस्यामा परेको थियो। अफगानिस्तानका बलर एएम गजानफरले दुवै विकेट लिए पनि मुम्बईका बलरले बलियो साझेदारी तोड्न सकेनन्।

यो जितसँगै पञ्जाब पाँच खेलमा अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पाँच खेलमा एक जित हात पारेको मुम्बई नवौं स्थानमा छ।

यसअघि ब्याटिङको निम्तो पाएपछि मुम्बईले क्विन्टन डी ककको उत्कृष्ट शतकको मद्दतले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो। सिजनको आफ्नो पहिलो खेल खेल्दै उनले ६० बलमा ८ चौका र ७ छक्का प्रहार गर्दै अविजित ११२ रन बनाए। योसँगै उनी सञ्जु सैमसन र केएल राहुलपछि तीन फरक टोलीका लागि शतक बनाउने तेस्रो खेलाडी बने।

मुम्बईका लागि नमन धीरले ३१ बलमा ४४ रनको योगदान दिए र डि ककसँग तेस्रो विकेटका लागि १२२ रनको साझेदारी गरे। कप्तान हार्दिक पाण्ड्याले १४ रन बनाए भने सूर्यकुमार यादव शून्य रनमा आउट भए।

पञ्जाबका लागि आर्शदीप सिंहले २२ रन दिएर ३ विकेट लिए र प्लेयर अफ द म्याच घोषित भए।