काठमाडौं – रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ।
आइतबार राति अहमदाबादमा खेलिएको फाइनलमा बेंगलुरुले गुजरातको लक्ष्य पछ्याउँदै अर्को च्याम्पियनसिप जित्यो।
१५६ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। बैंगलोरका लागि विराट कोहलीले ४२ बलमा ९ चौका र ३ छक्का सहित ७५ रन बनाएर अविजित रहे र खेलको सर्वाधिक स्कोरर बने।
आउट हुनुअघि भेंकटेश अय्यरले १६ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३२ रन बनाए। कप्तान रजत पाटीदारले १३ बलमा १५ रन बनाए भने टिम डेभिडले २४ रन बनाए।
गुजरातका लागि राशिद खानले २ विकेट लिए भने कागिसो रबाडा, मोहम्मद सिराज र अर्शद खानले १/१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५५ रन बनाएको थियो।
गुजरातका लागि वासिङ्टन सुन्दरले ३७ बलमा ५ चौका सहित अविजित ५० रन बनाए।
निशान्त सिन्धुले २०, जोस बटलरले १९, अरशद खानले १५, कप्तान शुभमन गिलले १० र साई सुदर्शनले १२ रन बनाए।
बैंगलोरका लागि रसिक सलामले ३ विकेट लिए भने जोस हेजलउड र भुवनेश्वर कुमारले २/२ विकेट लिए। क्रुणाल पाण्ड्याले १ विकेट लिए।
लिग चरणको शीर्ष स्थानमा रहेको बैंगलोरले पहिलो क्वालिफायरमा गुजरातलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।
दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात फाइनलमा पुगेको थियो, यसअघि राजस्थानले एलिमिनेटरमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो।
बेंगलुरु यसअघि २००९, २०११, २०१६ र २०२५ मा आईपीएलको फाइनलमा पुगेको थियो। उनीहरूले अघिल्लो संस्करणमा आफ्नो पहिलो उपाधि जितेका थिए र अहिले यसलाई सफलतापूर्वक रक्षा गरेका छन्।
यो जितसँगै बैंगलोर आईपीएलको इतिहासमा लगातार उपाधि जित्ने तेस्रो टोली बनेको छ। यसअघि, चेन्नई सुपर किंग्सले २०१० र २०११ मा उपलब्धि हासिल गरेको थियो भने मुम्बई इन्डियन्सले २०१९ र २०२० मा गरेको थियो।
उपविजेता गुजरातले २०२२ मा आफ्नो डेब्यू सिजनमा आईपीएलको उपाधि जितेको थियो र २०२३ को संस्करणमा पनि फाइनलमा पुगेको थियो।


