बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट यही माघ १२ गतेबाट सुरु हुने भएको छ।सुदूरपश्चिम प्रदेश क्रिकेट संघको आयोजनामा फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोलीको सहभागिता रहनेछ।
खेलको तालिका पनि सार्वजनिक भएको छ। तालिका अनुसार सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको संघका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिए। समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम छन् भने समूह ‘बी’ मा बैतडी, डडेल्धुरा, दार्चुला र बझाङ छन्।
प्रतियोगिताको उद्घाटन खेल माघ १२ गते कैलाली र अछामबीच हुनेछ। माघ १३ गते कञ्चनपुरले अछामसँग खेल्नेछ। माघ १४ मा कैलाली र डोटी भिड्ने माघ १५ मा अछामले डोटीसँग प्रतिस्पर्धा गर्नेछ; माघ १६ मा कैलाली र कञ्चनपुर भिड्ने र माघ १७ गते कञ्चनपुरले डोटीको सामना गर्नेछ।
त्यस्तै माघ १८ गते बैतडीले दार्चुलासँग खेल्नेछ। माघ १९ मा बझाङ र दार्चुला भिड्ने माघ २० मा डडेल्धुराले बझाङसँग प्रतिस्पर्धा गर्नेछ। माघ २१ गते डडेल्धुराले दार्चुलासँग खेल्नेछ। माघ २२ मा बैतडी र बझाङ भिड्ने र माघ २३ गते डडेल्धुराले बैतडीसँग प्रतिस्पर्धा गर्नेछ।
प्रत्येक समूहबाट शीर्ष टोली माघ २४ गते हुने तय भएको फाइनलमा पुग्नेछन्। प्रादेशिक छनोटपछि राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्न सुदूरपश्चिम टोली गठन गरिने संघले जनाएको छ।


