काठमाडौं – राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको आज विश्राम दिन रहेको छ। तर, भोलि मंगलबार दुई खेल हुनेछन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११ः४५ बजे पहिलो खेल डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट र चितवन राइनोजबीच हुनेछ भने दोस्रो खेलमा दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्।
लगातार चार खेल हारेर अहिले तालिकाको पुछारमा रहेको जनकपुरले यो खेल जितेर आफ्नो प्लेअफको आशा जीवित राख्ने लक्ष्य राखेको छ – कम्तीमा गणितीय हिसाबले।
चारमध्ये दुई खेलमा जित निकालेको चितवनले जितसँगै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउने लक्ष्य लिएको छ। दोस्रो खेल दिउँसो ४ बजे पोखरा र कर्णाली भिड्नेछन्।
दुवै टोलीका लागि यो खेल प्लेअफमा स्थान सुरक्षित गर्न महत्वपूर्ण छ। चार खेलमा एक जित हात पारेको पोखराले जित्यो भने प्लेअफ पुग्ने बाटो सहज हुनेछ। कर्णालीका लागि यो खेल गर या मरको अवस्था हो।
मंसिर १ गतेबाट सुरु भएको प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन्। अपराजित रहेको सुदूरपश्चिम रोयल्स १० अंक जोड्दै प्लेअफमा छनोट हुने पहिलो टोली बनेको छ।


