काठमाडौं – नेपालले एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
आज भएको समूह डी को खेलमा नेपालले भुटानलाई ५१ रनले पराजित गरेको छ।
मलेसियाको कोलेज टुआङ्कु जाफर ओभलमा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याएको भुटानले २० ओभरमा ८ विकेट गुमाएर ६२ रनमा अलआउट भएको थियो।
भुटानका लागि देचेन वाङ्मोले ३९ रन बनाएर अविजित रहे भने चाडो ओमले ११ रन बनाए। अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा पुग्न सकेनन्।
नेपालका लागि रुबिना क्षेत्रीले ३ विकेट लिएकी थिइन्। रिया शर्माले २ विकेट लिए भने कविता कुँवर र मनिषा उपाध्यायले १/१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङमा पठाएको नेपाल निर्धारित २० ओभरमा ११३ रनमा अलआउट भएको थियो।
नेपालका लागि सीता राना मगरले सर्वाधिक ३७ रन जोडिन्। रुबिना क्षेत्रीले २४ रन जोडिन् भने सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडिन्।
भुटानका लागि छिरिङ जाङ्मो र सोनमले ३/३ विकेट लिए। अञ्जु गुरुङले २ विकेट लिए भने ऋत्शी चोदेन र रिया प्रधानले १/१ विकेट लिए।
दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ‘डी’ को शीर्ष स्थानमा रहेको भुटान दुवै खेलमा हार बेहोरेर अंकविहीन छ भने हङकङ २ अंकसहित दोस्रो स्थानमा छ।
उद्घाटन खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो। भुटान यसअघि हङकङसँग १४ रनले पराजित भएको थियो।
नेपालले शनिबार हङकङसँग खेल्नेछ।


