काठमाडौं – एसियाली खेलकुद महिला क्रिकेट छनोट अन्तर्गत आज भएको दोस्रो खेलमा नेपाल इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक ४२ रन जोडिन् भने सोनी पाख्रिनले २९ रन जोडिन्। कविता कुँवरले १४ रन जोडिन् भने सीता राना मगरले १३ रन जोडिन्।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इन्डोनेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो। इन्डोनेसियाका कप्तान नी पुतु अयु नन्द सखारिनीले ५६ रनको उत्कृष्ट पारी खेले भने रत्ना देवीले २३ रन जोडिन्।

नेपालका लागि मनिषा उपाध्यायले २ तथा रिया शर्माले १ विकेट लिए।

अब नेपालले अब शनिबार सेमिफाइनलमा मलेसियाको सामना गर्नेछ। अर्को सेमिफाइनलमा थाइल्याण्डले चीनको सामना गर्नेछ।

प्रतियोगिताबाट शीर्ष तीन टोली एसियाली खेलकुदका लागि छनोट हुनेछन्। जापान यसअघि नै आयोजकका रूपमा स्वतः छनोट भइसकेको छ भने आईसीसीका पूर्ण सदस्य राष्ट्र भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाले प्रत्यक्ष योग्यता हासिल गरिसकेका छन्।

एसियाली खेलकुदमा महिला क्रिकेटमा आठ राष्ट्रको सहभागिता रहनेछ।