काठमाडौं – आइसिसी विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई ६ विकेटले पराजित गरेको छ।
१९५ रनको लक्ष्य पछ्याएको नेपालले ३८ दशमलव १ ओभरमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालका कप्तान रोहित पौडेलले अविजित ७४ रन बनाए भने इशान पाण्डेले ५५ रन बनाए।
आसिफ शेख र कुशल भुर्तेलले क्रमशः २९ र २८ रनको योगदान दिए। दीपेन्द्र सिंह ऐरी २ रन बनाएर आउट भए।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको थियो।
नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले क्रमशः ४ र ३ विकेट लिए। सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले एक एक विकेट लिए।
स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलेनले ७३ रन बनाए भने माइकल इंग्लिसले ५१ रन जोडे।


