विपिन खत्रीले ५ विकेट लिए भने अर्जुन कुमालले ९१ रन बनाए
पोखरा, गण्डकी प्रदेश प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कास्की जिल्लाले नवलपुरलाई ९६ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको कास्कीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रनको बलियो योगफल बनायो। जवाफमा नवलपुर ४४.२ ओभरमा १८५ रनमा अलआउट भयो।
यो जितसँगै कास्कीले २ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लिएको छ भने नवलपुर शून्यमा छ। कप्तान विपिन खत्रीको घातक बलिङ र अर्जुन कुमालको उत्कृष्ट ब्याटिङले कास्कीलाई सहज जित दिलाएको छ। खत्री प्लेयर अफ दि म्याच घोषित भए।
अर्जुन र सिब्रिनको तूफान साझेदारी
कास्कीले इनिङ्सको सुरुवात राम्रो गर्न सकेन। मुस्कान थापा (१४ रन) र सफा श्रेष्ठ (६ रन) सस्तोमा आउट भए। तर अर्जुन कुमाल र सिब्रिन श्रेष्ठले तेस्रो विकेटका लागि १३६ रनको महत्वपूर्ण साझेदारी गरे।
अर्जुन कुमलले १९ चौका र १ छक्का प्रहार गर्दै ९१ रनको उत्कृष्ट पारी खेले। सिब्रिन श्रेष्ठले ४४ बलमा ४ चौका र ६ छक्का सहित ६८ रन जोडे।
मध्यक्रममा रोहित चन्द (४) र शाबुद्दिन अन्सारी (४) ले उल्लेखनीय योगदान दिन सकेनन्। तर, सुवास भण्डारीले ४० रन (६२ बलमा ६ चौका) बनाएर अविजित रहे र टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए। कृष्ण पौडेलले २५ र विश्वास पराजुलीले १२ रन जोडे।
नवलपुरका लागि अनिश गुरुङले ३ विकेट लिए भने कमल परियार र स्विकार श्रेष्ठले २/२ विकेट लिए। तर, कास्कीको मिडल अर्डर र बलियो फिनिसिङले उनीहरुमाथि दबाब कायम राखेको थियो।
२ सय ८२ रनको लक्ष्य पछ्याएको नवलपुरको इनिङ्स सुरुमै ध्वस्त भयो। प्रमिश अर्याल (२) र गौरव विश्वकर्मा (१०) सस्तोमा आउट भए। दिपक डुम्रेले १९ रन बनाए भने विपिन खत्रीले बोल्ड गरे भने अनिश गुरुङ ९ रन बनाएर आउट भए।
मिडल अर्डरमा रिजन काफ्लेले ५८ रन (९३ बलमा ३ चौका र ६ छक्का) बनाए पनि पर्याप्त समर्थन भने पाएनन्। विज्ञान पाण्डेले २८ र कमल परियारले २२ रन जोडे।
अन्तमा सुदिप अर्यालले २२ रन बनाए पनि अन्ततः टोली १८५ रनमा अलआउट भयो।
कास्कीका कप्तान विपिन खत्रीले ८.२ ओभरमा ३६ रन दिएर ५ विकेट लिएर खेल जिताउन सफल भए। उनले दिपक डुम्रे, कमल परियार, सुदीप अर्याल, अपराजित पौडेल र स्विकार श्रेष्ठलाई बर्खास्त गरेका थिए।
बलिङतर्फ सागर भुजेल र कृष्ण पौडेलले एक–एक विकेट लिए भने सिब्रिन श्रेष्ठ र सुवास भण्डारीले पनि उत्कृष्ट बलिङ गरे।
यो जितसँगै कास्कीले समूह ‘ए’ मा आफ्नो स्थान बलियो बनाएको छ। गण्डकी प्रदेश क्रिकेट संघले आयोजना गरेको छनोट प्रतियोगिताले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि प्रादेशिक टोली छनोट गर्नेछ।


