कास्की – कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे क्रिकेट क्लब (एमसीसी)ले गण्डकी स्पोर्ट्स क्लबलाई पराजित गरेको छ।
गण्डकी स्पोर्ट्स क्लबले टस जितेर पहिले फिल्डिङ रोजेको छ। टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २७१ रनको बलियो स्कोर बनाएको थियो। सुमित श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै १५८ बलमा १३० रन बनाए। उनलाई प्रमोद बाँस्तोलाले २४ रन र दीपक माझीले २३ रनको साथ दिए।
गण्डकी स्पोर्ट्स क्लबका लागि सम्राट अधिकारी, श्रीराम प्रजापति र अनिश पोखरेलले समान १–१ विकेट लिए।
२७२ रनको लक्ष्य पछ्याएको गण्डकी स्पोर्ट्स क्लब २१.१ ओभरमा मात्र ५० रनमा अलपत्र भयो। जीएससीका लागि श्रीराम प्रजापतिले सर्वाधिक ११ रन जोडे भने विवेक अधिकारीले ९ रन जोडे।
एमसीसीका बलरहरूले प्रभावशाली बलिङ प्रदर्शन गरेका थिए। रितेश बरालले ५.१ ओभरमा ७ रन दिएर ५ विकेट लिए। उनलाई लक्ष्मण क्षेत्रीले २ विकेट र रिदम पाण्डेले २ विकेट लिए।
यस दमदार प्रदर्शनमा माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी स्पोर्ट्स क्लबलाई २२१ रनले पराजित गरेको हो। उत्कृष्ट शतक प्रहार गरेका सुमित श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए।

