काठमाडौं – नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै जय ट्रफी क्रिकेटको उपाधि रक्षा गरेको छ।
तेस्रो दिनको तेस्रो सत्रमा २२७ रनको लक्ष्य पछ्याउँदै पुलिसले ६ विकेट गुमाएर लगातार दोस्रो जित हात पारेको हो। रसिद खानले सर्वाधिक ८१ रन बनाएको थियो भने कुशल भुर्तेलले ५१ रनको योगदान दिए।
आर्मीका लागि पवन कार्की र शाहब आलमले २–२ विकेट लिए भने आकाश चन्द र भीम सार्कीले १–१ विकेट लिए।
यसअघि आर्मी दोस्रो इनिङ्समा २२६ रनमा अलआउट भएको थियो। आकाश चन्दले ३७, कुशल मल्लले ३६, शाहब आलमले ३३ र भीम सार्कीले ३२ रन बनाए। पुलिसका लागि सागर ढकालले ४ विकेट लिए भने करण केसी र ललित राजवंशीले ३/३ विकेट लिए।
पहिलो इनिङ्समा दुवै टोलीले २ सय २१ रन बनाएकाले खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। पुलिसका लागि करण केसीले अविजित ७२ रन खेले भने कप्तान आरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए।
पहिलो इनिङ्समा आर्मी २२१ रनमा अलआउट भएको थियो भने इमरान शेखले ५० रन बनाएका थिए। पुलिसका लागि राशिद खानले ४ विकेट लिए।
अघिल्लो संस्करणको फाइनलमा पनि पुलिसले आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो।


