काठमाडौं – चार अर्धशतक बनाएको खेलमा जनकपुर बोल्टले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेट गुमाएर १७६ रन बनाएको थियो। १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो।
जनकपुरका लागि मेजर सदाकातले सर्वाधिक ६३ रन बनाए भने अनिल साहले ६१ रनको योगदान दिए। आसिफ शेखले १८ र जान निकोल लोफ्टी-इटनले ११ रन बनाए। आदित्य महतो १८ रनमा अविजित रहे।
चितवनका लागि कमल सिंह ऐरी, सोहेल तनवीर र अमर रौतेलाले समान १–१ विकेट लिए।
चितवनका डेभिड मलानले सर्वाधिक ८० रन बनाए। अर्जुन साउदले ५२, रवि बोपारा र सैफ जैबले क्रमशः ३ र ७ रनको योगदान दिए। कुशल मल्ल ३० रनमा अविजित रहे।
जनकपुरका लागि मेजर सदाकात, अनिल साह, रुपेश सिंह र जन निकोल लोफ्टी–इटनले एक–एक विकेट लिए।


