काठमाडौं – रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को आफ्नो अभियान विजयी सुरुवात गरेको छ।
एम चिन्नास्वामी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आरसीबीले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो।
२०२ रनको लक्ष्य पछ्याएको बैंगलोरले १५.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
विराट कोहलीले ३८ बलमा ५ चौका र ५ छक्का प्रहार गर्दै अविजित ६९ रन बनाए।
देवदत्त पडिक्कलले २६ बलमा द्रुत ६१ रन बनाए भने कप्तान रजत पाटीदारले ३१ रनको योगदान दिए। टिम डेभिड १६ रनमा नटआउट रहे।
हैदरावादका लागि डेभिड पायनेले २ विकेट लिए भने जयदेव उनाडकट र हर्ष दुबेले १/१ विकेट लिए।
यसअघि टस जितेर बलिङ रोजेको आरसीबीले हैदरावादलाई २० ओभरमा ९ विकेट गुमाएर २०१ रनमा सीमित गरेको थियो।
हैदरावादका कप्तान इशान किशनले ३८ बलमा ८ चौका र ५ छक्का सहित ८० रन बनाएका थिए। तर, पावरप्लेका क्रममा हैदरावादले ३ महत्वपूर्ण विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो।
किशन र हेनरिक क्लासेनबीच चौथो विकेटका लागि ९७ रनको साझेदारीले इनिङ्सलाई स्थिरता दिलायो। क्लासेनले २२ बलमा ३१ रन बनाए।
अनिकेत वर्माले ४३ रन जोडे भने अभिषेक शर्मा (७) र ट्राभिस हेड (११) ले ठूलो योगदान दिन सकेनन्।
आरसीबीका लागि ज्याकब डफी र रोमारियो शेफर्डले ३–३ विकेट लिए भने भुवनेश्वर कुमार, अभिनन्दन सिंह र सुयश शर्माले एक–एक विकेट लिए।
यो जितसँगै डिफेन्डिङ च्याम्पियन आरसीबी २ अंकसहित तालिकाको शीर्ष स्थानमा छ भने हैदरावाद एक खेलपछि अंकविहीन रहेको छ।
आजको खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्ससँग वानखेडे स्टेडियममा साँझ ७ः४५ बजे खेल्नेछ।


