पोखरा – पोखरा क्रिकेट एकेडेमीको आयोजनामा ​​शुक्रबारदेखि पोखरामा सुरु भएको छैटौं संस्करणको ब्रेकिङ बाउन्ड्रीज अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको छैटौं संस्करण पोखरामा सुरु भएको छ।

 

किदशा फाउन्डेसन र एमसीसीको सहयोगमा कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

 

मालेपाटन खेलकुद मैदानमा भएको उद्घाटन खेलमा बाराही माविले राष्ट्रिय माविलाई ८ विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको राष्ट्रिय मावि १३ ओभरमा ४४ रनमा अलआउट भयो। जवाफमा बाराहीले ३.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

 

सोही मैदानमा भएको अर्को खेलमा तालबाराही माविले पार्दी माविलाई ३० रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको ताल बाराहीले १३ ओभरमा अलआउट हुँदा ८३ रन बनाएको थियो। ८४ रनको लक्ष्य पछ्याएको पार्दी मावि १३ ओभरमा ५३ रनमै सीमित भयो।

 

त्यसैगरी ब्वाइजमा शुक्रराज माविले शहिद स्मृति माविको सामना गर्दा शहिद स्मृति २ विकेटले विजयी भएको थियो। खेलको प्लेयर अफ द म्याच शुक्रराजका राज तामाङ घोषित भए।

 

बालिकातर्फ शहिद स्मृति माविले शुक्रराज माविलाई ९ विकेटले पराजित गरेको छ। खेलको प्लेयर अफ द म्याच शहिद स्मृतिकी विपासा कुमाल भइन्।

 

अर्को बालकको खेलमा जनप्रकाश माविले लक्ष्मी आदर्श माविलाई ६ विकेटले पराजित गरेको छ। यस्तै बालकको अर्को खेलमा बालमन्दिर विद्यालयले श्रीकृष्ण माविलाई पराजित गरेको छ।

 

पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बबिन कुँवरका अनुसार साताव्यापी प्रतियोगितामा केटातर्फ ३२ सामुदायिक विद्यालय र केटीतर्फ १६ सामुदायिक विद्यालयको सहभागिता रहेको छ।

 

च्याम्पियनसिप विजेता विद्यालयका खेलाडीले ६० प्रतिशत र उपविजेता टोलीका खेलाडीले ४० प्रतिशत छात्रवृत्ति पाउने कुँवरले बताए।

 

खेलहरु पोखरा रंगशाला क्रिकेट मैदान, मालेपाटन खेलकुद मैदान, अमरसिंह खेलकुद मैदान र लेखनाथको क्रिकेट मैदानमा हुनेछन्।