कास्की – विद्यालय जाने उमेर समूहका विद्यार्थीमा क्रिकेट खेल्ने सीप अभिवृद्धि गर्ने उद्देश्यले पर्वत जिल्लामा अन्तरविद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुरु भएको छ।
पर्वत जिल्ला क्रिकेट संघको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगिता दोस्रो संस्करणको रुपमा आयोजना हुँदैछ। प्रतियोगितामा जिल्ला भित्रका १४ विद्यालयको सहभागिता रहेको छ।
खेल कुश्मास्थित सशस्त्र प्रहरी बल २५ नं. प्रधान कार्यालय चण्डिकाको खेल मैदानमा हुँदैछ।
प्रत्येक विद्यालय टोलीमा 16 सदस्यहरू हुन्छन्: 14 खेलाडी, एक प्रशिक्षक, र एक व्यवस्थापक। प्रतियोगिता आईसीसीको नियम अनुसार टी–२० ढाँचामा आयोजना हुँदैछ। कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरू मात्र खेलाडीको रूपमा भाग लिन योग्य छन्।
प्रथम हुने टोलीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पनि विशेष पुरस्कार प्रदान गरिने छ।
संघले उत्कृष्ट प्रदर्शन गर्ने टोली र खेलाडीलाई विभिन्न पुरस्कारको व्यवस्था गरेको छ।
विद्यालय स्तरमा क्रिकेटको विकास गरी प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको पर्वत क्रिकेट संघले जनाएको छ। प्रकाशित तालिका अनुसार प्रतियोगिताको फाइनल खेल पुस १९ गते हुनेछ।
उद्घाटन समारोहमा बोल्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले खेलकुदको विकासका लागि विद्यार्थी तथा खेलकुदसँग सम्बन्धित संघ–संस्थासँग समन्वय गरी सक्दो सहयोग गर्न नगरपालिका तयार रहेको बताए।
उनले सानै उमेरमा विद्यार्थीलाई खेलकुदतर्फ आकर्षित गर्नाले सीप र अनुशासन निर्माणका साथै स्वस्थ नागरिकको विकासमा मद्दत पुग्नेमा जोड दिए।
सो अवसरमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जंगबहादुर पुन, प्रादेशिक अस्पताल पर्वतको व्यवस्थापन समितिका अध्यक्ष याम परियार, प्याब्सन पर्वतका अध्यक्ष विमल पौडेललगायतले शुभकामना व्यक्त गरेका थिए। सोही कार्यक्रममा अध्यक्ष पुनले पर्वत क्रिकेट संघका अध्यक्ष रेशम केसीलाई उत्कृष्ट खेलाडीलाई नगद हस्तान्तरण गरेका थिए।
गत वर्ष भएको पहिलो संस्करणमा कुश्माको नारायण मावि च्याम्पियन बनेको थियो भने बन्द चुवाको मंगलोदय मावि उपविजेता बनेको थियो।


