काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक छनोटको तयारी अन्तर्गत नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा कतारलाई पराजित गरेको छ।
ओमानको मस्कटस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्ड टर्फ–२ मा भएको खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि नेपालले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई पराजित गरेको थियो।
नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सकेको थियो। कतारका लागि मोहम्मद तनवीरले सर्वाधिक ३७ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ५१ रन बनाए। मिर्जा मोहम्मद बेगले २७ बलमा ४ छक्का सहित ४० रन जोडे भने मोहम्मद असिमले ३० रन जोडे।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी र नन्दन यादवले एक एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो। कुशल भुर्तेलले ३३ बलमा ५ चौका र तीन छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए। दीपेन्द्र सिंह ऐरीले २१ बलमा एक चौका र तीन छक्कासहित ३८ रन जोडे भने कुशल मल्ल २९ बलमा एक चौका र दुई छक्का सहित ३८ रनमा अविजित रहे। आरिफ शेखले १३ रन, ओपनर आसिफ शेखले ११ र कप्तान रोहित पौडेलले आठ रन जोडे।
कतारका लागि सरिफ मुनिर र मोहम्मद इक्रामुल्लाहले २–२ विकेट लिए।


