काठमाडौं – जनकपुर बोल्टले विराटनगर किंग्सविरुद्ध टस जितेर पहिले फिल्डिङ रोजेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरमा हुने खेल बिहान ११ बजेर ४५ मिनेटमा सुरु हुनेछ। जारी सिजनमा विराटनगरले दमदार उपस्थिति देखाएको छ।
पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाडौं विरुद्धको खेलमा शानदार जित निकालेको विराटनगर प्लेअफको बाटोमा सहज छ। गत सिजनको खराब प्रदर्शनपछि विराटनगर यस पटक उपाधिको बलियो दावेदार मानिएको छ।
स्वदेशी र विदेशी खेलाडीको मिश्रणले विराटनगरलाई राम्रो गति दिएको छ। यसैबीच डिफेन्डिङ च्याम्पियन जनकपुर आफ्नो पहिलो खेलमा काठमाडौंसँग ५ विकेटले पराजित भएको थियो।
अघिल्लो संस्करणको उद्घाटन खेलमा यी दुई टोली आमनेसामने भएका थिए जहाँ जनकपुरले ८ विकेटको सहज जित हात पारेको थियो।
एनपीएलमा ८ खेलपछि काठमाडौं गोरखाले ३ खेल, जनकपुर बोल्टले १ खेल र अन्य सबै टोलीले २/२ खेल खेलेका छन्।
पहिलो पटक प्यारापिटमा र फ्लडलाइटमुनि खेलिएको एनपीएलले मैदानमा प्रतिस्पर्धालाई तीव्र पार्दै नेपाली क्रिकेटमा नयाँ उत्साह सिर्जना गरेको छ।


