कास्की : भुटान राष्ट्रिय क्रिकेट टोलीले विश्व पर्यटन दिवसको अवसरमा पोखरा रंगशालाको क्रिकेट मैदानमा चार मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ।
भुटानी पुरुष राष्ट्रिय क्रिकेट टोली आगामी आइसिसी पुरुष टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि पोखराको भ्रमण गर्दैछ।
नेपाल क्रिकेट संघ (क्यान) को सहयोग र गण्डकी प्रदेश क्रिकेट संघ अन्तर्गतको भुटानी टोलीले पोखरामा चार अभ्यास खेल खेल्ने संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।
सिग्देलका अनुसार अक्टोबर ३ बाट मलेसियामा सुरु हुने प्रतियोगिताअघि भुटानले पोखरालाई अभ्यास गन्तव्यका रूपमा छनोट गरेको छ। अभ्यास खेलले पोखरामा क्रिकेटको विकास, खेल पर्यटन प्रवर्द्धन र सहरलाई अन्तर्राष्ट्रिय खेलकुद गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
‘पोखराको क्रिकेट पूर्वाधार, खेलकुद गतिविधि र पर्यटनबीचको सम्बन्धलाई थप मजबुत बनाउन यी अभ्यास खेलहरूले महत्वपूर्ण भूमिका खेल्नेछ,’ सिग्देलले भने।
तालिका अनुसार भुटानले गण्डकी प्रदेश क्रिकेट टोलीसँग सेप्टेम्बर २७ र २८ मा दुई अभ्यास खेल खेल्नेछ, त्यसपछि सेप्टेम्बर ३० र अक्टोबर १ गते क्यान इलेभेनसँग दुई खेल खेल्नेछ। चारै खेल पोखरा क्रिकेट मैदानमा हुनेछ।
विश्व पर्यटन दिवसमा सेप्टेम्बर २७ मा भुटान र गण्डकी प्रदेशबीच हुने पहिलो खेललाई क्रिकेटलाई पर्यटनसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले पोखरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिको केन्द्रका रूपमा विकास गर्ने संघको दीर्घकालीन लक्ष्य रहेको बताए।
‘भुटानको राष्ट्रिय टोलीको पोखरा भ्रमणले खेल पर्यटन प्रवद्र्धन, अन्तर्राष्ट्रिय खेलकूद सम्बन्ध विस्तार गर्न र पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउन योगदान पु¥याउने विश्वास लिएको छ।’ कार्कीले भने।


