काठमाडौं – बंगलादेशी क्रिकेटर अकबर अली नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।

कर्णाली याक्सले सामाजिक सञ्जालमार्फत हस्ताक्षर गरेको जानकारी दिएका हुन्। २४ वर्षीय अकबर अली सन् २०२० मा पहिलो पटक आईसीसी अन्डर-१९ विश्वकप जित्ने बंगलादेशको टोलीका कप्तान थिए।

दक्षिण अफ्रिकामा भएको फाइनलमा अकबरले अविजित ४३ रन बनाएर बंगलादेशले भारतलाई तीन विकेटले पराजित गर्दै उपाधि जितेको थियो। फाइनलमा गरेको प्रदर्शनका लागि उनी प्लेयर अफ द म्याच पनि घोषित भए।