काठमाडौं – जनकपुर बोल्ट्सका ओपनिङ ब्याट्सम्यान आसिफ शेख काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्।

उनले काठमाडौं गोर्खाविरुद्धको पहिलो खेलमा कोसेढुङ्गा बनाएका थिए। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आसिफले ३७ बलमा ६ चौका र एक छक्काको मद्दतले अर्धशतक पुरा गरेका हुन्। कुल ४१ बलको सामना गरेका उनी ५४ रनमा साहब आलमको हातमा कैच आउट भए।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो। जवाफमा काठमाडौंले अहिले ब्याटिङ गरिरहेको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा ​​आठ टोलीको सहभागितामा आजदेखि प्रतियोगिता सुरु भएको छ।