काठमाडौं – नेपाली महिला राष्ट्रिय टोलीले मलेसियामाथि अर्को जित हासिल गरेको छ। आज भएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ। जितसँगै नेपालले मलेसियाविरुद्धको सिरिजमा २–० को क्लिन स्वीप गरेको छ। नेपालले पहिलो खेल २ विकेटले जितेको थियो।

मलेसियाले दिएको ८३ रनको मामूली लक्ष्य पछ्याएको नेपालले १६ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

नेपालका लागि सम्झना खड्काले ३७ बलमा ३९ रन बनाएर अविजित रहिन्। कविता कुँवर पनि २० बलमा १९ रन बनाइन् भने सोनी पाखरिन १२ रनमा आउट भइन्।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

मलेसियाका लागि नुर धनिया र आइस्या एलिसाले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८२ रन बनाएको थियो।

मलेसियाका लागि आइना हमिजाहले ३० बलमा १७ रन जोडिन्। धनुश्रीले २० बलमा १५ रन बनाए भने अरिनान नतास्य १३ रनमा अविजित रहे।

नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले २–२ विकेट लिए भने पूजा महतो र सीता राना मगरले १–१ विकेट लिए।

आगामी सातादेखि सुरु हुने एसियाली खेलकुद छनोट र अर्को महिना हुने एसीसी प्रिमियर कपको तयारीका लागि नेपाली टोली अहिले मलेसियामा छ।