काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्ट्सले अर्को हार बेहोरेको छ।
प्रतियोगितामा लगातार छैटौं हार दर्ता गरेको लखनउ सोमबार राति मुम्बईमा भएको खेलमा घरेलु टोली मुम्बईसँग ६ विकेटले पराजित भएको हो। बलियो ब्याटिङ प्रदर्शन भए पनि कमजोर बलिङका कारण लखनउले खेल गुमाएको थियो।
लखनउले दिएको २२९ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ बल बाँकी रहँदा मात्र ४ विकेट गुमाएर पुरा गरेको हो। मुम्बईका लागि ओपनर रोहित शर्माले आउट हुनुअघि ४४ बलमा ६ चौका र ७ छक्का प्रहार गर्दै ८४ रनको उत्कृष्ट पारी खेले।
पहिलो विकेटका लागि रोहित र साथी ओपनर रायन रिकेल्टनले ६५ बलमा १४३ रनको ठूलो साझेदारी गरेका थिए। रिकेलटनले ३२ बलमा ६ चौका र ८ छक्का सहित ८३ रन बनाएर प्याभिलियन फर्किएका थिए।
नमन धीर २३ रनमा अविजित रहे भने कप्तान सूर्यकुमार यादवले १२ र तिलक वर्माले ११ रन बनाए। लखनउका लागि मनिमारन सिद्धार्थले २ विकेट लिए भने मोहम्मद शामी र मोहसिन खानले एक एक विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो। निकोलस पूरनले २१ बलमा १ चौका र ८ छक्का प्रहार गर्दै द्रुत ६३ रन बनाए।
ओपनर मिचेल मार्सले २५ बलमा ४४, कप्तान ऋषभ पन्तले १५ र जोस इङ्लिसले १३ रन बनाए भने हिम्मत सिंहले ४० र एडेन मार्कराम ३१ रनमा अविजित रहे।
मुम्बईका लागि कोर्बिन बोसले २ विकेट लिए भने अल्लाह गजानफर, विल ज्याक्स र रघु शर्माले एक एक विकेट लिए।
यो जितसँगै मुम्बई १० खेलबाट ६ अंक जोडेर तालिकाको नवौं स्थानमा उक्लिएको छ। पराजित लखनउ ९ खेलबाट ४ अंकसहित तालिकाको पुछारमा रहेको छ।


