काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९ औं संस्करणमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

चेन्नईको घरेलु मैदान एमए चिदम्बरम क्रिकेट स्टेडियममा आइतबार भएको खेलमा गुजरात ८ विकेटले विजयी भएको हो। चेन्नईले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र २ विकेट गुमाएर १६० रन बनायो। साई सुदर्शनले ४६ बलमा ४ चौका र ७ छक्का सहित ८७ रनको पारी खेले।

कप्तान शुभमन गिल २३ बलमा ३३ रन बनाएर आउट भए भने जोस बटलर ३९ रनमा अविजित रहे। चेन्नईका लागि अकिल होसेन र नूर अहमदले एक–एक विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो। कप्तान रुतुराज गायकवाडले ६० बलको सामना गर्दै ६ चौका र ४ छक्का प्रहार गर्दै अविजित ७४ रन बनाए। शिवम दुबेले २२, जेमी ओभरटनले १८ र कार्तिक शर्माले १५ रन जोडे।

गुजरातका लागि कागिसो रबाडाले ३, अरशद खानले २ तथा मोहम्मद सिराज र मानव सुथारले १/१ विकेट लिए।

यो जितसँगै गुजरातले ८ खेलबाट ८ अंक जोडेर पाँचौं स्थानमा छ भने ८ खेलबाट ६ अंक जोडेको चेन्नई छैटौं स्थानमा छ।