काठमाडौं – नेपाल ‘ए’ ले आज ओमानको राष्ट्रिय टोलीसँग दुई खेलको अभ्यास श्रृंखलाको अन्तिम खेल खेल्दैछ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेपछि सुरु हुनेछ।
आइसिसी विश्वकप लिग २ अन्तर्गत शनिबारदेखि नेपाल र युएईबीच त्रिकोणात्मक शृंखला खेल्न नेपाल आएको ओमानले यो खेल आफ्नो तयारी अन्तर्गत खेल्दैछ।
भर्खरै सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी नेपाल ‘ए’ गठन भएको हो।
बुधबार भएको पहिलो खेलमा नेपाल ‘ए’ ७० रनले पराजित भएको थियो।
उक्त खेलमा शीर्ष क्रमका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे पनि मध्य र तल्लो क्रमका ब्याट्सम्यानले निराशाजनक प्रदर्शन गरे।
३ विकेटको क्षतिमा १८८ रन बनाएको नेपाल ‘ए’ले थप २२ रनमा मात्र ७ विकेट गुमाएको थियो, जसका कारण खेल खराब रह्यो।
नेपाल क्रिकेट संघ (क्यान)ले अनिलकुमार साहको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको छ। अभ्यास खेल भएकाले सबै १४ खेलाडीलाई खेल्ने मौका दिइनेछ।


