काठमाडौं – नेपालको क्रिकेट इतिहासमा पहिलो पटक एउटै विदेशी लिगमा आठ नेपाली क्रिकेटर सहभागी हुने भएका छन्।
बेल्जियममा हुने युरोपियन टी–२० लिगको उद्घाटन सत्रमा नेपालका आठ खेलाडी सहभागी हुने भएका छन्।
यति ठूलो संख्यामा नेपाली खेलाडी एउटै विदेशी लिगमा सँगै खेल्ने यो पहिलो पटक हो। यसअघि सन् २०२४ मा क्यानडामा भएको ग्लोबल टी–२० मा तीन नेपाली क्रिकेटर मात्रै सहभागी भएका थिए।
मंगलबार भएको ड्राफ्टमा जेबी ब्रुग्सको टोलीले सर्वाधिक ५ जना नेपाली खेलाडीलाई अनुबन्ध गरेको हो। फ्रेन्चाइजीले नेपाल प्रिमियर लिगको पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्टसँग स्वामित्व बाँडेको छ।
मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपलको नेतृत्वमा रहेको टोलीले ललित राजवंशी, इशान पाण्डे, अनिल साह र गुलशन झालाई ड्राफ्टमा अनुबन्ध गरेको छ भने दीपेन्द्र सिंह ऐरीलाई यसअघि नै अनुबन्ध गरिसकेको छ।
त्यसैगरी नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेललाई गेन्ट ग्लाडियटर्सले छनोट गरेको छ भने आसिफ शेख ड्राफ्टमार्फत एन्टवर्प एन्करमा छनोट भएका छन्।
यसअघि ड्राफ्टमा सन्दीप लामिछानेलाई लिज रेड लायन्सले अनुबन्ध गरिसकेको छ। ललित, अनिल, इशान, गुलशन र आसिफका लागि यो विदेशी लिगमा खेल्ने पहिलो अनुभव हुनेछ।
पाँच टोलीको यो प्रतियोगिता जुन ६ देखि १४ सम्म हुने छ।


