काठमाडौं – बिहीबारदेखि सुरु हुने एसीसी महिला एसिया कप राइजिङ स्टार्समा प्रतिस्पर्धा गर्न थाइल्याण्ड प्रस्थान गर्नुअघि नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विदाई कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा बोल्दै कप्तान पुजा महतोले यसपटक टिम सहभागी मात्र नभएर उपाधि जित्ने लक्ष्यमा रहेको बताइन्।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

नेपालमा भर्खरै भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नियमित कप्तान इन्दु बर्मा घाइते भएपछि पूजालाई कप्तानी दिइएको थियो।

पूजाले यसअघि यू–१९ टोलीको नेतृत्व गरिसकेकी छिन्। मुख्य प्रशिक्षक हर्षल पाठकले नेपाली टोली सन्तुलित र राम्रोसँग तयार रहेको र विपक्षीलाई चुनौती दिन तयार रहेको बताए। अनुभवी खेलाडी रुविना क्षेत्रीले प्रतियोगिता एक्सपोजरको ठूलो अवसर भएको बताउँदै टोलीले बलियो नतिजा ल्याउने विश्वास व्यक्त गरिन्।

फेब्रुअरी १३ देखि २२ सम्म थाइल्याण्डमा आयोजना हुने प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र युएईसँग छ। समूह बी मा आयोजक थाइल्याण्ड, बंगलादेश ए, मलेसिया र श्रीलंका ए रहेका छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

नेपालले उद्घाटन खेलमा पाकिस्तान ‘ए’ विरुद्ध आफ्नो अभियान सुरु गर्नेछ। उसले फेब्रुअरी १५ मा युएई र १७ फेब्रुअरीमा भारत एसँग खेल्नेछ। सेमिफाइनल २० फेब्रुअरीमा र फाइनल २२ फेब्रुअरीमा हुनेछ।