काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग ७२ रनले पराजित हुँदै नेपाल बाहिरिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले १४१ रनको लक्ष्य पछ्याउन नसकेर १३ दशमलव ५ ओभरमा ६८ रनमा अलआउट भएको थियो।

यहाँ तपाईंको विज्ञापन३००×२५०, सम्पर्क ०१-५३१२०९६३००×२५०, सम्पर्क ०१-५३१२०९६

नेपालका लागि रोमा थापा १४ रनमा अविजित रहिन्। विन्दु रावलले १४ रन र रुविना क्षेत्रीले १० रन जोडे पनि अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

स्कटल्याण्डको बलिङ आक्रमणको नेतृत्व अबताहा मक्सुदले गरेका थिए जसले तीन विकेट लिए। क्याथरिन फ्रेजर र कप्तान क्याथरिन ब्राइसले २–२ विकेट लिए भने रेचेल स्लेटर र ओलिभिया बेलले १–१ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले निर्धारित २० ओभरमा १४० रन बनाएर अलआउट भएको थियो। प्रियानाज चटर्जीले सर्वाधिक ४५ रन बनाइन् भने एल्सा लिस्टरले २२, साराह ब्राइसले १८, मेगन म्याकोलले १७ र रेचेल स्लेटरले ११ रन जोडिन्।

नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिए भने रुविना क्षेत्रीले ३ विकेट लिए। रिया शर्मा, सीता राना मगर र कविता जोशीले एक–एक विकेट लिए।

यो हारसँगै नेपालले चार खेलबाट एक जितसहित दुई अंक जोड्दै समूह ‘बी’ मा चौथो स्थानमा रहँदै प्रतियोगिताको अन्त्य गरेको छ। अर्कोतर्फ स्कटल्याण्डले सोही खेलबाट चार अंक जोडेर सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरेको छ।