पोखरा – पोखरा क्रिकेट मैदानमा जारी कास्की जिल्ला क्लब स्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिता २०८२ को चौथो दिनको खेलमा अरण्यज्योति क्रिकेट क्लब (एजेसीसी) ले लेकसाइड क्रिकेट क्लब (एलसीसी) लाई १६ रनले पराजित गरेको छ।
लेकसाइड क्रिकेट क्लबले टस जितेर पहिले फिल्डिङ रोजेको थियो। टस जितेर पहिले ब्याटिङ गरेको अरण्यज्योति क्रिकेट क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो। एजेसीसीका लागि सञ्जीव कार्कीले ९५ बलमा ८९ रन बनाए। उनलाई घनश्यामकुमार यादवले ४२ बलमा ४५ रन बनाए भने सन्देश न्युरेले ६४ बलमा २५ रनको योगदान दिए।
लेकसाइड क्रिकेट क्लबका लागि हरिशङ्कर तिवारीले प्रभावशाली बलिङ प्रदर्शन गर्दै १० ओभरमा १९ रन दिएर ३ विकेट लिए। केशव सुनार र सन्देश शाहीले समान २–२ विकेट लिए।
२१५ रनको लक्ष्य पछ्याएको लेकसाइड क्रिकेट क्लब ४४.५ ओभरमा १९८ रनमा अलआउट भयो। एलसीसीका तर्फबाट सरोज धामी चौधरीले १३६ बलमा ८२ रन बनाए भने हरिशङ्कर तिवारीले ४८ बलमा ३७ रन जोडे। तर, बाँकी ब्याटिङ लाइनअपले महत्वपूर्ण साझेदारी निर्माण गर्न सकेनन्।
एजेसीसीको बलिङ आक्रमणमा अब्दुल खालिक खानले ९ ओभरमा १८ रन दिएर २ विकेट लिए। अवशेक भुजेल र प्रविण पौडेलले समान २–२ विकेट लिए। उत्कृष्ट ब्याटिङ प्रदर्शनका लागि सञ्जीव कार्की प्लेयर अफ दि म्याच घोषित भए।


