काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन मात्रै बनाउन सकेको थियो।
जनकपुरका लागि कप्तान हरमित सिंहले ३३ रन बनाए भने त्रितराज दासले १८ रनको योगदान दिए। आदित्य महता ३० रनमा अविजित रहे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।
लुम्बिनीका लागि डि'आर्सी सर्टले तीन विकेट लिए। तिलक भण्डारी र शेर मल्लले २–२ विकेट लिए भने रुबेन ट्रम्पलम्यानले १ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएको थियो।
इनिङ्सको पहिलो बलमै ओपनर डी’आर्सी सर्ट गुमाउँदा लुम्बिनीलाई प्रारम्भिक झटका लागेको थियो। अर्का ओपनर आसिफ शेख ६ दशमलव ५ ओभरमा २१ रन बनाएर आउट भए।
९.१ ओभरमा आउट हुनुअघि निरोशन डिकवेलाले २७ रनको योगदान दिए। दिलिप नाथले २५ रन जोडे भने कप्तान रोहित पौडेलले १७.२ ओभरमा आउट हुनुअघि ३४ रन जोडे।
रनआउट हुनुअघि शमिन हुसेनले १३ रन, सन्दीप जोराले ९ र रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए।
जनकपुरका लागि राहुल यादव र विशाल सुशलिङले २–२ विकेट लिए भने ललित राजवंशी, कप्तान हरमित सिंह र अभिषेक तिवारीले १–१ विकेट लिए।
यो जितसँगै लुम्बिनी लायन्सले प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ।


