काठमाडौं – आयोजक वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज पाकिस्तानले जितेको छ।

अमेरिकाको फ्लोरिडामा आज भएको तेस्रो तथा अन्तिम टी–२० खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई १३ रनले पराजित गर्दै शृंखला २–१ ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेल पाकिस्तानले जितेको थियो भने दोस्रो खेल वेस्ट इन्डिजले जितेको थियो।

१९० रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सकेन।

वेस्ट इन्डिजका ओपनर एलिक एथानाजेले ४० बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६० रनको उत्कृष्ट पारी खेले। शेरफान रदरफोर्डले ३५ बलमा ४ चौका र ३ छक्का सहित ५१ रनको योगदान दिए। ओपनर जोवेल एन्ड्रयुले २४ रन, रोस्टन चेज रिटायर हर्ट १५ रनमा र गुडाकेश मोती १० रनमा अविजित रहे।

पाकिस्तानका लागि हसन अली, मोहम्मद नवाज, सैम अयुब, हरिस रउफ र सुफियान मुकिमले एक एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १८९ रन बनाएको थियो।

ओपनर साहिबजादा फरहान र साइम अयुब दुबैले अर्धशतक बनाए। फरहानले ५३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ७४ रन बनाए भने अयुबले ४९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ६६ रन जोडे। उनीहरुले १३८ रनको ओपनिङ पार्टनरसिप गरे।

हसन नवाज १५ रनमा आउट भए भने खुशदिल शाह र फहिम अशरफ क्रमशः ११ र १० रनमा अविजित रहे।

वेस्ट इन्डिजका लागि जेसन होल्डर, रोस्टन चेस र शामर जोसेफले समान १–१ विकेट लिए।

यी दुई टोली अब शुक्रबारदेखि तीन खेलको एकदिवसीय सिरिज खेल्दैछन्।