काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गर्दै मंसिर १ (मङ्सिर मसान्त) बाट सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो।
एनपीएल पहिलो पटक फ्लडलाइटमा खेलिने भएको छ। क्यानका सचिव पारस खड्काले पहिलो संस्करण भव्य भएकाले दोस्रो संस्करणलाई झनै रमाइलो बनाउने योजना रहेको भन्दै त्यसका लागि दिन–रातका खेलहरु सञ्चालनमा ल्याएको बताए।
दोस्रो संस्करणको पुरस्कार राशी पहिलो संस्करणको जस्तै रहेको छ– १ करोड १० लाख रुपैयाँ। पहिलो संस्करणको उपाधि जनकपुर बोल्टले जितेको थियो।
उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुने कर्णाली याक्सले २५ लाख र चौथो हुने चितवन राइनोजले १५ लाख प्राप्त गरेको थियो। यो सिजन यी स्थानमा पर्न सफल टोलीले समान अनुपातमा पुरस्कार प्राप्त गर्नेछन्।
एनपीएलमा जम्मा ८ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ। लिगको उद्घाटन खेल मंसिर १ गते जनकपुर बोल्ट र काठमाडौं गोरखाबीच हुनेछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ।


