काठमाडौं– साविक विजेता लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाएर जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले इनिङ्सको पहिलो बलमै ओपनर डी’आर्सी सर्टलाई गुमाएर खराब सुरुवात गरेको थियो।

दोस्रो ओपनर आसिफ शेख ६ दशमलव ५ ओभरमा २१ रन बनाएर आउट भए। त्यसपछि लुम्बिनीले ९.१ औं ओभरमा २७ रन योगदान गरेका निरोशन डिकवेलालाई गुमाए।

दीपेन्द्र नाथले प्याभिलियन फर्कनुअघि २५ रन बनाए भने कप्तान रोहित पौडेलले १७ दशमलव २ ओभरमा आउट हुनुअघि ३४ रनको योगदान दिए।

रनआउट हुनुअघि शमिन हुसेनले १३ रन, सन्दीप जोराले ९ र रुबेन ट्रम्पलम्यानले १५ रन जोडे।

जनकपुरका लागि राहुल यादव र विशाल सुशलिङले २–२ विकेट लिए। ललित राजवंशी, कप्तान हरमित सिंह र अभिषेक तिवारीले एक एक विकेट लिए।